मिडियासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी, कैलाली ।  राष्ट्र तथा सुदूरपश्चिमा प्रदेशमा एचआईभी तथा एड्सकाे वर्तमान अवस्था, जोखिम समुह, सेवा उपलब्धता तथा चुनौतीहरुको बारेमा सञ्चार माध्यम मार्फत जानकारी गराउने उद्देश्यले धनगढीमा मिडिया सँग अन्तरक्रिया कार्यक्रम चैत्र ९ गते सम्पन्न भएको छ । एएचएफ नेपालको आर्थिक सहयोगमा स्वास्थ्य निर्देशनालय डोटीले अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका एचआइभी फोकल पर्सन मनोज ओझाले सुदूरपश्चिममा एचआईभीको वर्तमान अवस्था, जोखिम समूह, उपलब्ध सेवा तथा चुनौतीहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुतिकरणमा सुदूरपश्चिम प्रदेशलाई उच्च प्रभावित क्षेत्रको रूपमा उल्लेख गर्दै विशेषगरी भारतमा हुने वैदेशिक रोजगारी (माइग्रेशन) का कारण संक्रमणको जोखिम उच्च रहेको बताइएको थियो । भारत जाने श्रमिक, उनीहरूका जीवनसाथी, महिला यौनकर्मी, लागुऔषध प्रयोगकर्ता तथा समलिंगी पुरुष प्रमुख प्रभावित समूहका रूपमा पहिचान गरिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा १९ वटा एचआइभी परीक्षण तथा परामर्श केन्द्र, १९ वटा एआरटी सेवा केन्द्र, ३ वटा भाइरल लोड परिक्षण केन्द्र तथा टिभि एचआइभी एकीकृत सेवा उपलब्ध रहेको जानकारी प्रस्तुत गरिएको थियो । सुदूरपश्चिममा प्रदेशमा हाल ३ हजार ८१२ जना एचआईभी संक्रमितहरू रहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा एएचएफ नेपालले गरिरहेको कार्यको बारेमा पनि जानकारी गराइएको थियो । एएचएफ नेपालले एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाह सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेकाे छ । एएचएफ एक अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वका ५० देशहरूमा एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा एएचएफले १९ वटा एआरटी केन्द्रहरू तथा २ वटा सीमा नाकाहरूमा सहकार्य गर्दै सेवा सुदृढीकरणमा सहयोग गर्दै आएको छ भने सुदूरपश्चिम प्रदेशमा ४ वटा एआरटी केन्द्रमार्फत प्रत्यक्ष सहयोग प्रदान गरिरहेको छ । यसका अतिरिक्त एएचएफले समुदायस्तरमा जनचेतना अभिवृद्धि, जोखिम समूह लक्षित कार्यक्रम, परीक्षण सेवाको विस्तार, तथा गुणस्तरीय औषधि र उपचार सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कार्यक्रममा सहभागी मिडियाकर्मीहरुले एचआईभी रोकथाम, एचअाइभी परीक्षण सेवाको विस्तार, उपचारमा पहुँच तथा समाजमा रहेको लान्छना र भेदभाव न्यूनीकरणका विषयमा जिज्ञासा तथा सुझावहरू राखेका थिए । अतिथिहरूले मिडियाको भूमिका सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा एचआईभी सम्बन्धी लान्छना र भेदभाव न्यूनीकरणमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता सामाजिक विकाश मन्त्रालय नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश मलासीले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक, प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष, सेती एअारटी  केन्द्र सम्पर्क  व्यक्ति तथा मिडिया प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

Loading...