अभिभावकको लगानी र नागरिकको सहभागिताले विद्यालय शिक्षा प्रभावकारी  ः पूर्व मुख्यमन्त्री सोडारी 

वीणा विद्या मन्दिरको एक्काईसौँ वार्षिकोत्सव सम्पन्न

गौरीगङ्गा कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले नागरिकको सहभागिता र अभिभावकको लगानीले विद्यालय शिक्षा प्रभावकारी हुने कुरा बताउनु भएको छ ।

कैलालीको गौरीगङ्गा ६ वनबेहडा स्थित वीणा विद्या मन्दिरको २१ औं वार्षिक उत्सव समापन तथा विद्यालय भवन उद्‌घाटन समारोहमा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुहुँदै पूर्व मुख्यमन्त्री सोडारीले सामुदायिक तथा सार्वजनिक शिक्षामा सबै तहको सरकारले लगानी गरिरहेकोहुँदा  लगानी अनुसारको प्रतिफलका लागी सबै क्षेत्र र तहको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो । संविधानमा नै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनी उल्लेख गरिएको विषयमा जोड दिनुहुँदै, स्थानीय तहलाई शिक्षाको अधिकार भए पनि कतिपय अवस्थामा स्थानीय तहले सामान्य शिक्षक सरुवा बढुवा लगायतका कार्य गर्न खोज्दा समेत गर्न नसकिएको गुनासो गर्नुभयो ।

वीणा विद्या मन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव समापन समारोहका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारको ससर्त अनुदान अन्तरगत निर्माण गरिएका भवनको उद्‌घाटन गरिएको हो ।

Loading...