डिलबहादुर सिंह
डोटी, कार्तिक ११ गते । पछिल्लो समय पहाडबाट बसाई सराईका कारण पहाडका गाउँहरु रित्तिन थालेका छन् । पछिल्लो समय पहाडबाट बसाइ सर्नेहरु बढिरहेको समयमा १० बर्ष अघि बसाई सरेर कैलालीको बेहडाबाट जानु भएका डोटीको बडिकेदार गाउँपालिका १ चुनकुट्टे गाउँका भुवन बोहरा चार बर्ष अघि बडिकेदार फर्केर कृषि कार्यक्रम संलग्न भएर गाउँमा नै उदाहरणीय बन्नु भएको छ ।
गाउँमा अन्न उत्पादन कम भएर घर परिवारलाई हात मुख जोर्नमै समस्या हुन थालेपछि भुवन बोहरा परिवार सहित कैलालीको बनबेहडामा बसाई सराई गरेर जानुभयो । पुख्र्यौली सम्पतीको रुपमा बनबेहडामा उहाँलाई पाँच कट्टा जमिन प्राप्त भयो । पाँच कट्टा जमिनमा उत्पादन भएको अन्नले समेत घर परिवार गुजारा गर्न गाहे हुन थालेपछि कामको खोजीमा भारत जानु भयो । १० बर्ष सम्म भारतका बिभिन्न स्थानमा रोजगारी गर्दै बिताउनु भयो । भारतमा बर्षभरी काम गर्दा पनि मुस्किलले ४०÷५० हजार रुपियाँ बचत हुने । भारतबाट कमाएको रकमले घरमा खर्च टार्न नपुग्ने । भारतको हिमाञ्चल, सिमला,जोधपुर लगायतका स्थान सम्म पुगेर १० बर्ष सम्म रोजगारी गर्नुभयो । जोधपुरमा २ बर्ष जती तरकारी फार्ममा काम गर्नु भयो । रात दिन नभनी काम गर्नु पर्ने । परदेशमा जती दुखः गर्दा आम्दानी गर्न नसके पछि घर फर्कुनुभयो । पहाडको गाउँमा रहेको खेती योग्य जमिन बाझै राखेर परिवार कैलालीको बनबेहडामा बसिरहेको थियो ।
पहाडमा बाझो रहेको जमिनमा खेती गर्ने उद्देश्यले डोटीको बडिकेदार पुख्र्यौली गाउँमा फर्किनु भयो । चुनकुट्टे गाउँमा रहेको आफ्नो र अन्य आफन्तको बाझो जमिनमा मकै र कोदो लगाउन सुरु गर्नु भयो । मकै र कोदो उत्पादन नै कम हुने मेहनत धेरै गर्नु पर्ने कैलाली सम्म पुर्याउदा मुस्किलले बर्षमा ३ हजार देखि ४ हजार सम्म आम्दानी हुने । त्यसैमा जंगली जनावर बदेलले अन्न बाली खाने डर ।
भारतमा तरकारी फर्ममा काम गर्दा सिकेको सीपलाई लागु गर्ने मनसायले तरकारी खेती गर्न थाल्नु भयो । जमिनमा उत्पादन भएको अदुवा, खुर्सानी, रायो, लसुन, प्याज बिक्रिबाट एक मौषममा नै मकै र कोदो भन्दा १० गुणा बढी आम्दानी भयो । तरकारी खेतीलाई निरन्तरता दिने निर्णय गर्नुभयो । गाउँमा तरकारी खेती गर्नको लागी सिचाईको सुविधा थिएन । बर्षाको पानिको भरमा तरकारी खेती गर्नु पने बखहखाध्यता थियो । उत्पादनमा थपघट भइरहने गथ्र्यो । २ बर्ष अघि मात्र ग्रेप परियोजनाको बारेमा थाहा पाउनुभयो । ग्रेप परियोजना द्धारा गाउँमा परिचालन हुनुभएका स्थानीय स्रोत ब्यक्ति सँग भेट भयो । दुई दिने तालिममा पनि सहभागी हुने अवसर पाउनु भयो । बिपिनगरमा भएको तालिममा बिषेश गरी बेमौसमी तरकारी उत्पादन लगायत जनवायु अनुकुलन खेती प्रणालीका बारेमा पनि जानकारी भयो । ग्रेप परियोजनाको सहयोगमा हाल उहाँले प्लाष्टिक घर भित्र तरकारी उत्पादन गर्नु भएको छ । बेला बेलामा प्राविधिक सहयोग पनि हुँदै आएको छ । तरकारीको नर्सरी मार्फत बिभिन्न जातका बेर्ना उत्पादन गरेर बिक्रि गर्नु भएको छ । तरकारी बालीमा लाग्ने रोग किराको निदानको लागी जैविक बिषाधीी, एलोस्टिक आदी प्रविधीको प्रयोग गर्दै आउनु भएको छ । ३ सय मिटर लामो प्लाष्टिक पाइप किनेर घर देखि टाढा खोलाबाट सिचाईको लागी पानि ब्यवस्था गरिएको छ ।
घर नजिकैको बारीमा खुर्सानी, अदुवा, रायो, रोप्नु भएको छ । यो मौसममा मात्र ५० हजारको खुर्सानी बिक्रि गरिसक्नु भएको छ । २ लाख सम्मको अदुवा बिक्रि गर्ने लक्ष्य छ । प्लाष्टिक घर भित्र टमाटर र काउली रोप्ने तयारी मा हुनुहुन्छ । ५० हजार भन्दा बढीको हरियो धनीया बिक्रि गरिसक्नु भयो । धनीया र खुर्सानी अझै बारीमा बाँकी छ । बोहराले उत्पादन गरेको तरकारी कैलालीको अत्तरीया सम्म पुग्ने गरेको छ ।
‘म सँगै भारत जानेहरु अझै उतै छन् । एक सिजनमा उता बढीमा कमाई हुने भनेको ४० ÷ ५० हजार होला ।’ भर्खरै तयार हुदै गरेको काउँलीको नर्सरी र हुर्किदै गरेको अदुवाको बिरुवा तर्फ देखाउँदै भन्नुभयो, – ‘आफै उत्पादन गरेको तरकारीबाट मैले यो सिजनमा नै म ३ देखि ४ लाख सम्म कमाउछु ।’
भुवन बोहराका धेरै जसो आफन्तहरु बसाई सराई गरेर तराइमा छ । हाल उहाँले करिव ७ रोपनी जती जमिनमा तरकारी खेती गर्दै आउनु भएको छ । आफ्नो जमिन थोरै भए पनि दाजुभाई र आफन्तले छोडेर बाझो रहेको जमिनमा समेत तरकारी खेती गरेर आम्दानी गर्दै आउनु भएको छ ।
- Facebook Comments
- Comments

