गाउँपालिकाले उपलब्ध गराएको जमिनमा वादी समुदायद्धारा बास्मती धान उत्पादन

जोरायल  । डोटीको जोरायल गाउँपालिकाले बास्मती धान उत्पादन गर्न वादी समुदायका घर परिवारलाई जमिन उपलब्ध गराएको छ । परम्परा देखि नै नाचगान गर्ने पेशामा आवद्ध वादी समुदायको पेशा संकटमा पर्न थालेसँगै दैनिक रुपमा आम्दानीको लागी पनि समस्या हुन थाले पछि धान खेतीका लागी जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराएको छ । परम्परा देखि नै विवाह, ब्रतबन्ध देखि चाड पर्व र मेलामा नाच गरेर जिवन निर्वाह गर्दै आउनु भएका वादी समुदायका ब्यक्तिहरुलाई नाचगान गर्ने पेशाबाट आम्दानी कम हुन थालेसँगै घर परिवारलाई हातमुख जोर्न समेत समस्या हुँदै आएको थियो । जोरायल गाउँपालिकाले स्थानीय ब्यक्तिबाट पाँच रोपनी जमिन भाडामा लिएर बादी समुदायका दश घरपरिवारलाई हंसराज बास्मती धान उत्पादनका लागी उपलब्ध गराएको छ ।
जोरायल गाउँपालिका उपाध्यक्ष जमुना रोकाया बोहराका अनुसार बिपन्न वर्गका ब्यक्तिहरुका लागी आय आर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणाली अन्तरगत आर्थिक २०७५/२०७६ देखि नै बार्षिक रुपमा प्रति रोपनी १५ हजारका दरले ७५ हजार रुपियाँ जमिनको भाडा बाफत दिईदै आएको छ । उपाध्यक्ष बोहराले भन्नुभयो,– “नियमित रुपमा खेती गर्ने जमिन पनि नभएकोले बादी समुदायका ब्यक्तिहरुलाई बिहान बेलुका के खाने भन्ने समस्या देखिएको थियो । हामीले जमिनको भाडा बाफतको रकम गाउँपालिकाबाट तिर्नु पर्ने निर्णय गरेका छौं । यसबाट थोरै भए पनि बादी समुदायका ब्यक्तिहरुलाई राहत भएको छ । जमिन भाडामा दिने बारेको सम्झौता प्रत्येक तिन तिन बर्षमा नविकरण हुने ब्यवस्था गरिएको छ ।”
डोटीको जोरायल क्षेत्र हंसराज बास्मती धान उत्पादन हुने क्षेत्रका रुपमा चिनिन्छ । यस क्षेत्रमा उत्पादन हुने बास्मती पछिल्लो समय जिल्ला बाहिर पनि निर्यात हुन थालेको छ । जोरायल गाउँपालिका नायव सुब्बा चन्द्र बहादुर सार्कीले भन्नुभयो, –“जोरायल गाउँपालिका वडा नं. ३ र ४ मा बसोबास गर्दै आउनु भएका २० घर परिवार मध्ये वादी समुदायका १० घरपरिवार यसबाट प्रत्यक्ष लाभान्वीत हुनु भएको छ । आफ्नो जमिन नभएकाहरुले पालिकाले उपलब्ध गराएको जमिनबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । ”
गाउँपालिकाले उपलब्ध गराएको जमिनबाट भएको उत्पादन बिक्रिबाट आम्दानी हुँदै आएको कटैनी देवी बादीले बताउनुभयो । उहाँले भन्नुभयो,– “हामी त बाजे बराजुका पाला देखि नै नाचगान गरेर त्यसै बाफत प्राप्त भएको अन्न ल्याएर खान्थ्यौं । घर परिवारको संख्या पनि बढ्दै जान थाले पछि आम्दानी घट्न थाल्यो । हाल पालिकाले जमिन उपलब्ध गराएर खेती गर्न दिए पछि थोरै भए पनि राहत भएको छ । ”
पालिकाले उपलब्ध गराएको जमिनमा बर्षाको समयमा हंसराज बास्मती धानको उत्पादन हुँदै आएको छ, भने हिउँदको समयमा गहुँ र बेमौसमी तरकारीको उत्पादन गरेर आम्दानी गर्दै हुने गरेको छ । सो क्षेत्रमा प्रति रोपनी ३ क्विन्टल सम्म धान उत्पादन हुँदै आएको छ । जोरायल क्षेत्रमा उत्पादन हुँदै आएको बास्मतीलाई स्थानीय सहकारी मार्फत जिल्ला बाहिर निर्यातका लागी बजारीकरण हुँदै आएको छ ।

Loading...