डोटीमा आलु उत्पादन बढ्यो
डिलबहादुर सिंह
। पछिल्ला तीन वर्षको अवधीमा डोटी जिल्लामा आलुको उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ४१२ हेक्टर क्षेत्रफल जमिनमा आलु लगाइएकोमा ४० हजार २९५ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०७९/0८० मा ३ हजार ४३३ क्षेत्रफल जमिनमा ४० हजार ५४३ मेट्रिक टन आलु उत्पादन भएको आर्थिक २०८०/०८१ मा जम्मा ३ हजार ४७१ हेक्टर क्षेत्रफल जमिनमा आलु लगाइएकोमा ४१ हजार ६५२ मेट्रिक टन आलु उत्पादन भएको छ ।
तिन बर्षको अवधीमा आलु खेती गरिने जमिनको क्षेत्रफल समेत बढेको छ । जिल्लामा उत्पादनको तुलना गर्दा आर्थिक वर्ष २०८०/०८१ मा १ प्रतिशतले बढेको पाइन्छ । सरकारी तथा गैरसकारी क्षेत्रबाट आलु खेतीको विकास र विस्तारमा लगानीने गर्ने गरेका कारण आलुको उत्पादन बढ्न थालेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो । निमित्त कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, – ‘सायल र जोरायल क्षेत्रमा जिल्लामा सबै भन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा चिनिन्छ । आगामी दिनहरूमा क्लस्टरमा बिभाजन गरेर आलु खेती गर्ने योजना छ, त्यसो भएमा आलु खेतीको लागि अझै क्षेत्र बिस्तार हुन सक्छ ।’
जिल्लामा आलु उत्पादन बढ्दै गएको भए पनि किसानहरुका आफ्नै समस्या रहेका छन् । उत्पादित आलुको उचित मुल्य नपाउनु, बजारिकरणमा समस्या, जंगली जनावरले बाली नष्ट गर्ने लगायतका समस्याका कारण आलु उत्पादनमा समस्या रहेको बताईएको छ । बदेल लगायतका जंगली जनावरको त्रास आलु उत्पादक कृषकमहरुमा रहेको हुन्छ ।
‘जंगली जनावरबाट आलु जोगाउनै मुस्किल छ । जनावरबाट जोगाएर आलु उत्पादन भइहाले पनि बजार नजिक नभएका कारण समस्या छ ।’ आलु खेती गरिदै आएको गाउँ नजिकैको पाखोबारी देखाउदै सायल गाउँपालिका–३ साप्राका आलु उत्पादक कृषक देवबहादुर खातीले भन्नुभयो, –‘जंगली जनावरको हेरालु बसेर आलु खेती गरिरहेका छौं । जंगली जनावरले कतिवेला आएर आलु खेती सखाप पार्छ भन्ने चिन्ता लागिरहन्छ । आलु उत्पादन हुने मौसममा आलु प्रसस्तै उत्पादन भएपनि नजिक बजार छैन । भनेको जस्तो मुल्य पाइदैन । ’
सायल गाउँपालिकामा मात्रै एक हजार २०० मेट्रिक टन भन्दा बढी आलुको उत्पादन ।
डोटीको सायल गाउँपालिकामा उत्पादन हुने स्थानीय आलु जिल्लामा नै प्रख्यात छ । चिसो हावा पानि हुने सायल क्षेत्रमा उत्पादन हुने आलु स्वादिष्ट छ । खप्तड राष्ट्रिय निकुञ्ज सँगै जोडिएको डोटीको सायल गाउँपालिकामा मात्रै बार्षिक १ हजार २०० मेट्रिक टन आलु उत्पादन हुने गरेको सायल गाउँपालिका कृषि शाखा प्रमुख मदन बहादुर खड्काले जानकारी दिनुभएको छ ।
जिल्लामा नै सबै भन्दा बढी आलु सायल गाउँपालिकामा हुने गरेको छ । आर्थिक बर्ष २०७८/७९ मा सायल गाउँपालिकाका बिभिन्न वडाहरुमा १ सय २० हेक्टर क्षेत्रफल जमिनमा आलुखेती गरिएकोमा १ हजार २ सय मेट्रिक टन आलु उत्पादन भएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा १ सय ४१ हेक्टर जमिन क्षेत्रफलमा आलुखेती गरिएकोमा १ हजार ४१० मेट्रिक टन आलु उत्पान भएको बताइएको छ । सायल गाउँपालिकामा संख्या १ हजार ७९५ परिवार आलु खेतीमा सँलग्न रहेका छन् ।
जिल्लाका बिभिन्न स्थानबाट कामका लागि भारत जाने परम्परा कायमै रहेको छ । पछिल्लो समयमा जमिन बाझो राखेर बिदेशमा गएर जोखिम पुर्ण काम गर्ने यूवाहरुको संख्या घट्न सकेको छैन । कृषि क्षेत्रमा नै लागेर आर्थिक उपार्जन गरिरहेको युवाहरुको संख्या न्यून छ । उत्पादनका आधारमा पकेट क्षेत्र बिस्तार गरेर उत्पादन बढाउन सके किसानको आय स्तरमा समेत बृद्धी गर्न सकिन्छ । बसाइ सराई र बैदेशीक रोजगारी रोकथामका लागि समेत कृषिमा उत्पादकत्व बृद्धी र ब्यवासयीकरण आवश्यक रहेको छ ।