काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएको कारण तत्काल कतार नजाने भएका छन् ।
वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाका अनुसार कतारको तर्फबाट कानुनी प्रक्रिया पूर्ण नभएको कारण पठाउन नसकिएको हो । प्रवक्ता ढुङ्गानाले भन्नुभयो , ‘हामीले पठाउनका लागि पुरै तयारी गरेका छौँ तर उताबाट प्रक्रिया पुरा नभएको कारण पठाउन नमिलेको हो ।’
हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने भए पनि त्यसबारे कुनै पहल देखिएको छैन ।

