झिग्राना (डोटी) । २९ औं बन्यजन्तु सप्ताहको अवसरमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रका विभिन्न पदमार्गहरुको सरसफाइ गरिएको छ । बैशाख १ गते देखि सञ्चालन भएको पदमार्ग सरसफाइ अभियानको आज ७ गते झिग्राना स्थित खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा समापन गरिएको छ । नेपाली सेना, निकुञ्जका कर्मचारी लगायतको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको बताएको छ ।
निकुञ्ज भित्रका पदमार्गहरुमा घुम्न आउने पर्यटकहरुले प्रयोग गरेर फालिएका प्लास्टिक जन्य फोहरका कारण संरक्षित क्षेत्रका वन्यजन्तुमा संरक्षणमा चुनौती भईरहेकोले पदमार्ग सरसफाई अभियान सञ्चालन गरिएको खप्तड राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ट संरक्षण अधिकृत सरोजमणी पौडेलले बताउनु भयो ।
वन्यजन्तु सप्ताहको अवसरमा आयोजना गरिएको पदमार्ग सरसफाइ अभियान समापन कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, नेपाली सेना, संचारकर्मी लगायतका सरोकारवाला निकायको सहभागिता रहेको थियो । प्लाष्टिक जन्य सामाग्रीका कारण बन्यजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै पछिल्लो समय खप्तड राष्टिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान थालिएको छ ।
नेपालमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणको महत्व र दीगो उपयोग गर्न जनचेतना अभिवृद्दी गर्ने उदेश्यले वि।सं। २०५३ सालदेखि प्रत्येक बर्षको वैशाख १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गतका कार्यालयहरुले वन्यजन्तु सप्ताह मनाउंदै आएका छन् ।