धनगढी। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागी नेकपा (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दावी पेश गर्नुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दाबी गर्न दिनु भएको समयसीमाअनुसार सोडारीले आज मुख्यमन्त्रीमा दावी गर्नुभएको हो ।
सङ्घीय समीकरणमा रहेका दल एमाले १०, माओवादी १०, समाजवादी चार, नागरिक उन्मुक्तीका सात मध्ये दुई जना र स्वतन्त्रका एक गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री दावी गर्नुभएको हो । सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा (एमाले) ले निर्णयमा ढिलाइ गर्दा बुधबार र बिहीबार बिहानसम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेको थिएन । एमालेले एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन तयार भएपछि उहाँले दावी पेश गर्नुभएको छ ।
प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ती पार्टीकै दुईवटा दावेदारीले मुख्यमन्त्री नियुक्तीमा निस्कर्षमा पुग्न नसकेको बताउदै बैशाख ४ गते दोस्रो पटक मुख्यमन्त्रीको दाबीका लागि आव्हान गर्नुभएको थियो । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गर्नुभयो । त्यसपछि चैत २३ गते प्रदेश प्रमुख मियाले संविधानअनुसार दुई वा दुई भन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न १० दिनको समयसीमा दिनुभएकोे थियो ।
सुदूरपश्चिममा मुख्यमन्त्री दावी गर्नुका लागि २७ जना प्रदेश सभा सदस्यको आवश्यक्ता पर्छ । अर्कोतिर नेपाली कांग्रेसका १८ र नागरिक उन्मक्तीका पाँच र राप्रपाका एक जना रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । बझाङ प्रदेश सभा (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि प्रदेश सभामा हाल ५२ जना सदस्य छन् । सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

