डोटी । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीद्धारा शिखर नगरपालिका वडा नं.३ र ६ का ७ जना स्थानीय स्रोत ब्यक्ति र अगुवा कृषकहरुलाई प्राकृतिक खेती प्रणाली सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले कार्यान्वयन गरिरहेको एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत स्रोत ब्यक्तिहरुलाई प्राकृतिक खेती प्रणालीको परिचय, सिद्धान्त, बिरुवाहरुलाई चाहिने बिभिन्न पोषक तत्वहरु, सुक्ष्म जिवाणु बनाउने विधी, प्रशोधित बिरुवा फलफुल र चौलानी झोल बनाउने तरिका साथ साथै जैविक जडीबुटी, माछाको प्रशोधित झोल , फस्फोरस र क्याल्सियम बनाउने बिधी र तिनको प्रयोग बाली बिरुवामा कसरी गर्ने भन्ने बारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
शिखर नगरपालिका ३ र ६ मा रहेका प्राकृतिक खेती समुहका १ सय ४० कृषकहरु मध्येमा छनौट भएका ७ जना अगुवा कृषक तथा स्रोत ब्यक्तिहरुलाई तालिम दिइएको सामुदायिक विकास मञ्चका निरज बोगटीले जानकारी दिनु भयो ।
तालिम लिएका ७ जना अगुवा किसानलाई प्राकृतिक खेती प्रणाली सम्बन्धी सिकेका कुराहरु सिकाउन प्राकृतिक खेती समुहमा परिचालन गरिने छ ।