डोटी । डोटीको सायल गाउँपालिका – ३ बेटारागाउँ सम्म सडक यातायात र बेटारादेखि भेल्छणा सम्म पैदल मार्ग निर्माण भए सँगै भेल्छणा झरना अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ ।
खप्तड प्रवेशद्धारका रुपमा रहेको झिग्राना देखि करिव १४ किलोमिटर कच्ची सडकमा गाडीको यात्रा मार्फत सायल गाउँपालिकाको बेटारा गाँउ पुग्न सकिन्छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा झिग्राना देखि बेटारा सम्मको सडक निर्माण भएको हो । नेपाल पर्यटन बोर्ड र सायल गाउँपालिकाको संयुक्त लगानीमा बेटारा देखि भेल्छणा झरना सम्म पैदल मार्ग निर्माण गरिएको छ ।
झिग्राना देखि बेटारा गाँउ सम्म १ घण्टा ३० मिनेटको गाडीको यात्रा र बेटारा गाँउ देखि २ घण्टा ३० मिनेटको पैदल यात्रा पछि भेल्छणा झरना सम्म पुग्न सकिन्छ । स
डक यातायातको पहुँचसँगै भेल्छणा झरनालाई पर्यटकीय हिसावले विकास गर्न, सहज बसोबास लगायत भेल्छणा हुँदै खप्तड सम्मको पैदल मार्ग निर्माण कार्यका लागि गाउँपालिकाले पहल गरिरहेको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताउनुभयो ।
सायल गाउँपालिकाको बिच भाग भएर बग्ने सायली गाडको सिरानमा भेल्छणा झरना रहेको छ ।
नेपाल पर्यटन बोर्ड सँगको सहयोगमा गाउँपालिका द्धारा बेटारा धनेछणा देखि भेल्छणा सम्मको पैदल मार्ग निर्माण गरिएको छ ।
बेटारा देखि भेल्छणा सम्मको पैदल मार्गमा निर्माण सँगै आवश्यक जानकारी मुलक बोर्डहरु राख्ने कार्य भइरहेको सायल गाउँपालिका वडा नं. ३ का अध्यक्ष नवराज उपाध्यायले बताउनुभयो । हिउँदमा झरनामा केही पानि कम हुने भए पनि बर्षा याममा झरनामा पानी पनि धेरै हुने र अझै सुन्दर पनि देखिन्छ ।