तिन वर्षमा सम्पन्न हुनुपर्ने अस्पताल भवन, अढाई वर्ष सम्म काम नै सुरु भएन

डोटी ।

डोटीको सायल गाउँपालिका –४ डौडमा १० शैयाको अस्पताल भवन निर्माणकालागि निर्माण कम्पनीसँग सम्झौता भई ८४ लाख पेश्की रकम बुझेको अढाई बर्ष पुग्नै लाग्दा समेत अस्पताल भवन निर्माण कार्य सुरु समेत नभइ अलपत्र परेको छ । सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीका अनुसार विक्रम संवत २०७८ साल साउन २० गते देखि तिन बर्ष भित्र अस्पताल भवन निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता निर्माण कम्पनीसँग भएको हो । अध्यक्ष जोशीले भन्नुभयो,– “हामी भन्दा अघिल्लो कार्यकालमा नै ठेकेदारसँग सम्झौता भई पेश्की रकम दिइएको रहेछ । हामिले गाउँपालिकाको तर्फबाट पटक –पटक खिखित र मौखिक ताकेता गर्दा समेत ठेकेदार सम्पर्क आउन सकेको छैन ।”
स्थानीय डौड स्वास्थ्य चौकीको भवन समेत भत्काएर अस्पताल निर्माणका लागि जमिन सम्म्याउने कार्य भएको छ । २०७९ साल कार्तिक २२ गते आएको भुकम्पका कारण स्वास्थ्य चौकी भवन चर्किए पश्चात अस्पताल भवन निर्माणका लागि जमिन बढाउने कार्य अनुरुप स्वास्थ्य चौकीको भवन समेत भत्काइएको हो ।
अस्पताल भवन निर्माण पश्चात गुणस्तरीय उपचार सेवा पाउने आशामा रहेका स्थानीय सामान्य स्वास्थ्य उपचारबाट समेत बञ्चित हुन थालेका छन् । स्वास्थ्य चौकीका लागि अस्थायी रुपमा निर्माण गरिएको टिनको टहराबाट स्वास्थ्य उपचार हुँदै आएको छ । चिसोको समयमा टिनको टहरामा उपचार गर्दा बृद्धबृद्धा, सुत्केरी महिला र नवजात शिशुलाई चिसोका कारण झनै स्वास्थ्य समस्या हुने गरेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । स्थानीयले समयमै भवन निर्माण कार्यलाई अगाढी बढाउनु पर्ने माग गरेका छन् । स्थानीय टेकबहादुर सिंहले भन्नुभयो,–“भवनका लागि जमिन सम्म्याउने कार्य वडा कार्यालयबाट भएको हो । त्यस यता ठेकेदारले पेश्की रकम लिएको भन्ने सुनियो तर ठेकेदार अस्पताल निर्माण स्थलमा आएको पनि देखिएन ।”
टिबिआर कन्ट्रक्सन प्राली नामक निर्माण कम्पनीले अस्पताल भवन निर्माणका लागि गाउँपालिकासँग सम्झौता गरेको हो । अस्पताल भवन निर्माणका लागि टिबिआर कन्ट्रक्सन प्रा.ली.सँग ९ करोड रुपियाँ बराबरको ठेक्का सम्झौता भएको छ । अढाई बर्ष सम्म भवन निर्माण कार्यको प्रगती विवरण पेश गर्न नसक्दा संघीय सरकारबाट यो आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि वजेट समेत विनियोजन गरिएको छैन । पछिल्लो पटक सायल गाउँपालिकाले निर्माण कम्पनीलाई पत्र मार्फत सम्पर्क आउन ताकेता गर्दा पुस २० गते गाउँपालिकामा उपस्थित हुने मौखिक जानकारी आएको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताउनुभयो ।
डौड स्वास्थ्य चौकीको भएको स्थानमा नै १० शैयाको अस्पताल भवन निर्माण कार्यको योजना बनाइएको छ । स्वास्थ्य चौकी पनि भवन विहिन छ । अस्पताल भवन निर्माण सम्पन्न भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशामा रहेका स्थानीयले भवन अभावका कारण उपचारमा समस्या हुन थालेपछि जिल्ला सदरमुकाम सिलगढी लगायत निजी स्वास्थ्य क्लीनिकहरुमा धाउनु परेको छ ।

Loading...