डिलबहादुर सिंह
डोटी असार २८ गते ।
पछिल्लो समय डोटी जिल्लामा गहुँको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक बर्ष २०७८/७९ मा १४ हजार २९८ हेक्टर जमिनमा गहुँ बाली लगाइएकोमा २४ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो, आर्थिक बर्ष आर्थिक वर्ष २०७९/०८० मा डोटी जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा २३ हजार ५६८ मेट्रिक टन गहुँ उत्पादन भएकोमा, आर्थिक बर्ष २०८०/०८१ मा गहुँ उत्पादनका लागी लगाईएको जमिनको क्षेत्रफल र गहुँ बालीको उत्पादन दुबै घटेको छ । आर्थिक बर्ष २०८०/०८१ मा डोटीमा १२ हजार २९० हेक्टर क्षेत्रफल गहुँ लगाइएकोमा १७ हजार ४५२ मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको छ ।
समयमा नै पानि नपर्नु, लगातारको पानि नररेर हुने खडेरी, ग्रामीण क्षेत्रमा पर्याप्त सिचाँईको अभाव, तरकारी खेती प्रतिको आकर्षण, जंगली जनावरबाट जंगल आसपासका क्षेत्रमा लगाइएको खेती नष्ट गर्ने प्रवृती, बढ्दो बाझो जमिन राख्ने क्रम लगायतका कारण जिल्लामा गहुँ उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो । निमित्त कार्यालय प्रमुख अवस्थीले भन्नुभयो,–‘लामो समय सम्म हिउदमा पानी नपरेर उच्च लेकाली भेगमा जमिन अत्याधिक सुख्खा भएका कारण पर्याप्त गहुँ उत्पादन हुन सकेको छैन । समय समयमा हुने खडेरीका कारण गहुँमा सिन्दुरे रोग देखा पर्नु, जंगली जनावरले गहुँ बालीमा नोक्सानी गर्नु, ग्रामीण क्षेत्रमा भइरहेको बसाइ सराई, ग्रामीण क्षेत्रबाट वैदेशिक रोजगारीका लागि यूवा पलायन लगायतका कारण पछिल्लो समयमा गहुँको उत्पादन घट्दै गएको छ ।’
जिल्लामा पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खेती योग्य जमिन बाझो राख्ने क्रम समेत बढ्दै गएको छ । डोटी जिल्लामा ३२ हजार २७६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २५ हजार ५०० हेक्टरमा मात्र खेती गरिदै आएको बताइएको छ । ‘पहिला पहिला गाउँघरमा जमिन बाझो राख्ने चलन थिएन । जंगल फडानी गरेर समेत गहुँ लगाउथ्यौं ।’ डोटीको पूर्वीचौकी –२ बग्लेग गाउँका भिम बहादुर ठकुल्लाले भन्नुभयो,– ‘आजभोली खेती गर्ने मान्छे पनि गाउँमा धेरै छैनन् । उत्पादन पनि त्यती राम्रो हुँदैन । बरु तरकारी लगायत अरु नै खेती गरेर गहुँ किनेर ल्याउदा फाइदा हुन्छ । त्यही भए पनि हाम्रो तिर गहँु उत्पादन घट्दै गएको हो । ’
स्थानीय तहहरुबाट समेत गाउँघरमा विकास निर्माणका नाममा डोजरले जथाभावी सडक खन्ने क्रम जारी रहेको छ । डोजरले खनिएका सडकका कारण पहिरो जाने र पानिको मुहाँन सुक्ने गरेका कारण पनि सिचाँई सुविधामा समस्या भएको छ । नियमित रुपमा पानि आउने मुहान समेत सुके पछि गहुँ जस्तै अन्य हिउँदे बाली उत्पादनमा समेत समस्या भएको छ ।
गहुँ बालीमा रोग किराको प्रकोप समेत बर्षै पिच्छे हुने गरेको छ । रोग किराका कारण गहुँ बालीमा पार्याप्त उत्पादन नहुने गरेको किसानको गुनासो छ । पूर्वीचौकी गाउँपालिका –७ का किसान बिष्णु महराले भन्नुभयो,– ‘यस वर्ष गहुँमा सिँन्दुरे रोग लागेका कारण हाम्रो गाउँमा ५ सय रोपनीमा गरिएको गहुँ खेती नष्ट भयो । सिन्दुरे रोग लागेर पनि बचेको गहुँ समेत खान योग्य भएन । यस बर्ष खेतमा २५ प्रतिशत पनि गहुँ उत्पादन भएन । किसानलाई भोकमारी हुने चिन्ता परेको छ ।’
हिउँदमा बर्षा हुनु पर्ने समयमा पर्याप्त बर्षा नहुँने गहुँ भित्राउने समयमा असिना समेत क्षती पुर्याउने गरेको छ । जिल्लामा गहुँ खेती गरिने जमिनको उत्पादन क्षेत्रफल पनि बर्षेनी घट्दै गएको छ । जिल्लामा उपभोगका लागि अपुग गहुँ तराईका जिल्लाहरुबाट आयात हुँदै आएको छ । जेठ, बैशाखमा मुल्य सस्तो भएको समयमा ब्यापारीहरुले तराइका जिल्लाहरुबाट खरिद गरेर ल्याउने गरेका छन् । मुल्य कम भएको समयमा ग्रामीण क्षेत्रका वासिन्दाहरुले एकै पटकमा बर्ष भरी पुग्ने गरी समेत गहुँ खरिद गरेर भण्डार गर्ने चलन समेत बढ्दै गएको छ ।
