डोटीमा चैते धान काट्न सुरु भयो
बैशाखमा रोपिएको धान असारमा भित्राइदै
डिलबहादुर सिंह
डोटी।
असार महिनामा जिल्लाका अन्य क्षेत्रमा किसानहरु धान रोपाईमा व्यस्त भएको समयमा डोटीको शिखर नगरपालिका– २ कालागाडका किसानहरु भने चैते धान भित्राउनमा व्यस्त रहेका छन् । परिक्षणका रुपमा डोटीमा यस बर्ष पाँच हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको छ । चैते धानको उत्पादन राम्रै भए पछि किसानहरु उत्साहित भएका छन् ।
कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीका अनुसार अनुसार यस वर्ष डोटीमा दिपायल सिलगढी नगरपालिका –७ शिखर नगरपालिका –२ का किसानहरुले चैतेधानको खेती गरिरहेका छन् । निमित्त कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, –“केही दिनको बर्षा पछि मौसममा सुधार भए सँगै किसानहरु चैते धान भित्राउन थालेका छन् । परिक्षणको रुपमा लगाइएको भए पनि राम्रै उत्पादन हुँदा किसान उत्साहित भएका छन् ।”
चैते धान काटी सकेपछि सोही खेतमा पुनः धान रोपाई गर्न सकिन्छ । पर्याप्त पानि नपर्दा समेत धान कुलोको सुविधा भएका स्थानमा धान राम्रै फलेकोले आगमी बर्ष पनि चैते धानलाई निरन्तरता दिने तयारी रहेको डोटीको शिखर नगरपालिका–२ का कृषक निम कार्किले बताउनु भयो । कृषक कार्कीले भन्नुभयो, –“एउटै खेतबाट बर्षमा दुइ पटक धान उत्पादन गर्न सकिने भए पछि धान उत्पादनमा आत्मनिर्भर हुन सकिनेमा ढुक्क छु । पर्याप्त बर्षा भएन । धान फल्दैन की भन्ने थियो । अहिले राम्रै फलको छ ।”
यस वर्ष डोटी जिल्लामा चैते धान पाँच र हर्दिनाथ धान गरि दुई किसिमको धान किसानले रोपेका हुन । यस वर्ष बैशाख महिनाको ३ र ४ गते मेसिनको प्रयोग र किसानद्वारा धान रोपिएको थियो । बर्षा याममा भन्दा रोपिने धान भन्दा चैते धानको राम्रो धानको बाला लागेको छ ।
सेती नदिको किनारका फाँटहरुमा मलिलो जमिन भएका कारण चैते धान प्रवद्र्धनको लागि उपयुक्त रहेको बताईएको छ । आगामी आर्थिक वर्षमा पनि चैते धान जिल्लामा सिमसार तथा सिचाइ सुविधा भएका क्षेत्रहरुमा थप बिस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।