डिलबहादुर सिंह
डोटी ।

डोटी जिल्लाका बिभिन्न स्थानमा कृषकहरुले ढैंचाको खेती गरेर मल उत्पादन गर्न थालेका छ । सुदुरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्ला मध्य डोटीमा पहिलो पटक किसानले ढैँचाको खेती गरेर मल उत्पादनको सुरूवात गरेको कृषि ज्ञान केन्द्र डोटीले जानकारी दिएको छ । गोवर मल र रासायनिक मलको बिकल्पको रुपमा मा किसानले ढैँचा नामक बिरूवाको खेती गरेर मलको रुपमा प्रयोग गर्न थालेका छन् ।
तिन रोपनी खेतमा ढैंचाको खेती गरेर मलको रुपमा प्रयोग गर्नु भएका डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका– ५ का कर्ण बहादुर मलासीले ढैंचाको बिरुवाको प्रयोगले गोवर मल र रसायनीक मलको अभाव पुरा गरेको बताउनुभयो । कृषक मलासीले भन्नुभयो, “मैले पहिलो पटक यसपाली परिक्षणको रूपमा मेरो खेतमा ढैँचाको बिरुवा उमारेर मलको प्रयोग गरेको छु । अघिल्ला बर्षहरुको भन्दा खेतको माटो खुकुलो, मलिलो र हलुका देखिएको छ । ढैंचाको बीउ खेतमा छरेको ४० देखि ६० दिन भित्रको बिरुवालाई माटोसँग मिसाउदा मल एकदमै राम्रो बन्दो रहेछ । यो बर्ष धान खेतमा मलको रुपमा ढैंचालाई प्रयोग गरेको छु । उत्पादन राम्रो भएमा यसैलाई निरन्तरता दिने र थप बिस्तार गर्ने तयारीमा छु ।”
विशेषतः ढैँचा छरेको २० देखि २५ दिन भित्रमा तयार भएको बिरुवालाई मलको रुपमा प्रयोग गर्न सकिन्छ । ढैंचाको बिरुवालाई मलको रुपमा प्रयोग गर्न थाले पछि किसानलाई गोबर मललाई डोकोमा बोकेर खेतबारीमा पुर्याउनु पर्ने बाध्यता कम भएको छ ।
कृषि ज्ञान केन्द्र डोटीका अनुसार जिल्लाको जोरायल गाउँपालिका, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका किसानहरुले यो बर्ष पहिलो पटक खेतबारीमामा ढैँचा उमारेर ढैँचाको बिरुवाहरुलाई मलको रुपमा प्रयोग गर्न थालेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मध्ये डोटीमा किसानहरुले पहिलो पटक मलको रुपमा प्रयोगका लागि ढैंचाको खेतीको सुरुवात गरेको बताउनुहँुदै कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगा दत्त अवस्थीले भन्नुभयो, – “हाललाई कृषि ज्ञान केन्द्र डोटीले डोटी जिल्लाका बिभिन्न स्थानम १ सय ८० किलो ढैंचाको बिउ बितरण गरिएको छ । फुल नफुल्दै बिरुवालाई माटो मुनी पुरिहाल्दा राम्रो हुन्छ । सायनिक मल (युरिया) को विकल्पमा धानवालिमा हरियो मल (ढैचा)लाई मलको रुपमा प्रयोग गरिन्छ । ढैंचामा हरियो पदार्थको परिमाण धेरै हुन्छ, यसमा धान बालीको लागी असल पोषक तत्वहरु हुनुका साथै माटोको अबस्थामा सुधार ल्याउने उने गुणहरु हुन्छन् । ढैंचाको बिरुवा खेतमा राख्ने बेलामा एक पटक सिचाई दिन सकिएको खण्डमा धानको उत्पादन बढ्छ ।
निशुल्क नमुना प्रदर्शनी कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो पटक परीक्षणको ढैँचाको बीउ ल्याएर किसानलाई मल उत्पादनको लागि निशुल्क बीउ वितरण गरिएको बताइएको छ । ढैँचा मलले माटोको भौतिक, रासायनिक र जैविक उत्पादकत्व वृद्धि गर्ने बताइएको छ । ढैंचा मलले माटोमा प्राङ्गारिक पदार्थको मात्रामा वृद्धि गर्ने गरिएको छ । ढैँचा एक कोसे बाली भएको हुनाले यस्को जरामा नाईट्रेजन यूक्त तत्व सञ्चय गर्ने भएको हुनाले अर्को बालीको लागी ज्यादै लाभदायक सिद्ध हुने अवस्थिले बताउनु भयो । कृषि ज्ञान केन्द्र डोटीले परिक्षणको लागि यस वर्ष प्रदेश कृषि अनुसन्धान केन्द्र दिपायललाई पनि ढैँचाको बीउ उपलब्ध गराएको छ ।
नेपालमा गरिएको अनुसन्धान अनुसार हरियो मलको रुपमा ढैंचालाई पूर्व धानखेतीमा प्रयोग गर्दा २० देखि २५ प्रतिशत सम्म धानको उत्पादन बृद्धि भएको छ । ढैंचको जरा तथा हांगाबिंगाहरुमा समेत गिर्खाहरु हुने सेकस्वानिया रोस्ट्रटाको पत्ता लागेपछि हरियो मलको यसको प्रयोग बढ्दै गएको छ ।
ढैंचालाई धान बालीमा प्रयोग गर्दा धान को रोपाई गर्नु भन्दा एक हप्ता अगाबै ढैंचाको कलिलो फ’ल नफुलेको विरुवालाई माटोमा पल्टाउनु पर्दछ । अहिले पनि ढैंचा मलको रुपमा प्रयोग गर्दा फुल फुल्नु भन्दा अगाडी पल्टाई सक्नु पर्ने कुरा पटक्कै भुल्नु हुंदैन ।
ढैँचा प्रयोगको विधि
धान लगाउने खेतमा चैत्र महिनाको सुरु देखि बैशाख महिनाको अन्त्य सम्म ढैँचाको बिउलाई खेतमा छर्न सकिन्छ । हरियो मलको रुपमा प्रयोग गर्न ढैँचा छर्दा प्रति हेक्टर ४० किलो र बिउ उत्पादनका लागि लगाउँदा प्रति हेक्टर १५ किलोका दरले बिउ छर्नु पर्दछ । हरियो मलको लागि पर्याप्त चिस्यान भएको खेतमा एकपटक जोताई गरेर ढैँचा छर्न सकिन्छ भने कहिँ कतै किसानहरुले बाँझो खेतमै पानी माउने र ढैँचाको बिउ छरेर पानी सुक्न दिने गरेको पनि पाईन्छ । यसरि लगाइएको ढैँचा ६÷७ हप्तामा खेतमा पल्टाउनको लागि तयार हुन्छ । ढैँचाको वानस्पतिक वृद्धि विकास सकिएर फुलफुल््ने अवस्थामा पुगेपछि, फुल फुल्नु अगावै ट्रयाक्टरमा जडित ह्यारोको सहायताले माटोमा मिलाउनु पर्दछ । ह्यारोले ढैँचालाई टुक्रा टुक्रा पारेर माटोले पुर्ने काम गर्दछ । खेतमा हलुका पानी पटाएर माटोमा मिलेको ढैचालाई २÷३ दिन कुहिन छाड्ने र त्यपछि धान रोपाइँ गर्नु पर्दछ । ढैंचाालाई माटोमा कुहिन चिस्यान आवश्यक पर्ने हुनाले असिंचित क्षेत्रमा भने ढैचाको कम्पोष्ट बनाएर प्रयोग गर्न सकिन्छ । बसन्ते मकै पछी बर्षे धान लगाउने खेतमा मकैको पहिलो र दोस्रो गोडाइको समयमा ढैँचाको वीउलाई अन्तरवालीको रुपमा रोपेर धान रोपाई गर्नु अगाडि हिल्याउंदा ढैंचा समेत पल्टाएर हरियो मलको काम लिन पनि सकिन्छ । रासायनिक मलको मात्र प्रयोग नगरी ढैचा (जैविक र हरियो मल) र रासायनिक मलको एकीकृत प्रयोग गर्न सक्ने हो भने दिर्घकालिन रुपमा कम लागतमा, माटोको स्वास्थ्य कायम राखी धानको उत्पादन बढाउन सकिन्छ ।