भारतमा कष्टपूर्ण कृषि मजदुरी, घर फर्केपछि लोभलाग्दो तरकारी व्यवसाय

डिलबहादुर सिंह
बुडर (डोटी )। रोजगारीको खोजीमा १५ वर्ष पहिला गाउँका अन्य साथीहरुसँगै भारतको हिमाञ्चल प्रदेशमा पुग्नु भएका डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकैको डाडाँखाली गाउँका ४० वर्षीया डिलबहादुर बैजाली (मगर) ले दुई वर्ष सम्म भारतको हिमाञ्चल प्रदेशमा कृषि मजदुरको रुपमा काम गर्नुभयो । अत्याधिक चिसो हावापानी भएको स्थान त्यसैमा कष्टपुर्ण रुपमा तरकारी बारिमा रातदिन नभनेर काम गर्नु पर्ने, मालिकको हेपाई, न्यून ज्यालाले दिक्क भएका बैजाली यत्तिको मेहनत आफ्नै ठाउँमा गर्न पाए राम्रै आम्दानी हुने मनसायका साथ घर फर्किनु भयो । हिमाञ्चल प्रदेशमा दुई वर्ष सम्म सिकेको कृषिको ज्ञान आफ्नै ठाउँमा प्रयोग गर्ने मनसायले तरकारी खेती गर्न थाल्नु भयो । तरकारी खेती सुरु गरेयता डिलबहादुर बैजालीले रोजगारीकै लागी घर छोड्नु परेको छैन ।
पहाडी क्षेत्र उस्तै हावापानी र भौगोलीक बनावट त्यहाँको जती मेहनत आफ्नै गाउँ ठाउँमा गर्न सके राम्रै आम्दानी हुने देखेर नेपाल फर्किनु भएका बैजालीले हाल ५० रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ । घर नजिकैको बारीमा तरकारी गोलमेल गरिरहेको अवस्थामा भेटिनु भएका बैजालीले भन्नुभयो,–“घरमा हातमुख जोर्न समस्या भएपछि कामकै खोजीमा भारतको हिमाञ्चल प्रदेश सम्म पनि पुगे । हिमाञ्चल प्रदेशमा पनि हाम्रो यताको जस्तै बाझो जमिन खन्नुपर्ने, तरकारी गोडमेल गर्नु पर्ने, मेहनत गरे उत्पादन पनि राम्रै हुने । आफ्नो गाउँ घरको जमिन बाझै राखेर अरुका लागि पसिना बगाइएछ जस्तो लाग्यो र नेपाल फर्किर तरकारी खेती गर्न थाले । अहिले सम्म पेट पाल्नकै लागी चिन्ता लिनु परेको छैन ।”

बैजालीका दुई जना छोराहरु काठमाण्डौमा बसेर अध्यायन गरिरहेका छन् । बालबालिकाको पढाई खर्च देखि दैनिक घर खर्च समेत तरकारी खेतीबाट आएको आम्दानीलेहुँदै आएको छ । अघिल्लो बर्ष ७ लाखको तरकारी बिक्रि गर्नु भएका बैजालीले यस बर्षको जेठ असारमा मात्रै करिव १५ लाखको तरकारी बिक्रि गर्ने लक्ष्य लिनु भएको छ । सुरुमा घर वरिपरिकै एक रोपनी जमिनमा मुला मात्र रोपेर तरकारी खेतीको सुरुवात गर्नु भएका डिलबहादुर बैजालीले बर्षेनी तरकारी उत्पादनका लागि जमिन बढाउदै यो बर्ष ५० रोपनीमा मौसमी र बेमौसमी विभिन्न जातको तरकारी उत्पादन गर्दै आउनु भएको छ । उहाँले कृषिमा जलवायु मैत्री आधुनीेक प्रविधीको प्रयोग गर्दै आउनु भएको छ । सुख्खा डाडाँमा पानिको अभाव भएको स्थानमा पनि प्लाष्टिक पोखरीमा वर्षाको पानि संकलन गरेर मल्चिङ प्रविधी, थोपा सिंचाई प्रविधीको प्रयोग र प्लाष्टिक घर निर्माण गरेर तरकारी उत्पादन गर्दै आउनु भएको छ । बैजालीको तरकारी खेती प्रतिको लगाब देखेर छिमेकीहरु समेत व्यवसायीक रुपमा तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् । ‘हाम्रो यहाँ अ

ग्लो र भिरालो जमिन छ । पानिको समस्या उस्तै । केहि बर्ष अगाडी सम्म हामीले यस्तो ठाउँमा पनि तरकारी उत्पादन गर्न सकिन्छ भन्ने सोचेका पनि थिएनौ’ नजिकैको तरकारी बारी देखाउदै स्थानीय रम्भा नेपालीले भन्नुभयो,–“आजभोली थोपा सिंचाईको प्रयोग, वर्षाको पानि पोखरीमा संकलन गर्ने लगायतका उपाय अपनाएर भए पनि तरकारी उत्पादन गरेर आम्दानी गर्दै आएका छौं ।”
यस क्षेत्रमा उत्पादन भएको तरकारी बिक्रिका लागि स्थानीय बुडर बजारसँगै तराईका जिल्लाहरु कैलाली कञ्चनपुर सम्म जाने गरिएको छ । भिमदत्त राजमार्गबाट एक किलोमिटर को दुरी गाउँ रहेकोले उत्पादित सामाग्री बजार सम्म लैजाने प्रकृयाका लागि समस्या नहुने बताइएको छ ।

डिलबहादुर बैजालीलाई ब्यवसायीक रुपमा तरकारी उत्पादनका लागी कृषि ज्ञान केन्द्र डोटीले पनि सहयोग गर्दै आएको छ । कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीका अनुसार सो क्षेत्रमा जलवायु मैत्री प्रविधीको प्रयोग मार्फत तरकारी उत्पादन हुँदै आएको छ । कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, – “जलवायु मैत्री प्रविधिको प्रयोग मार्फत ठूलो प्लटमा प्रदर्शनी कार्यक्रम अन्तरग प्राविधिक र सामाग्रीहरु कृषि ज्ञान केन्द्रको तर्फबाट सहयोग गरिएको छ ।”
सो क्षेत्रमा जलवायु मैत्री प्रधिवि अन्तरग प्रांगारिक मल, झोलमल, स्थानीय स्तरमा झारपातबाट बनाईने बिषादीको प्रयोग गरिदै आएको छ । सुख्खा जमिन भएको र मानवीय स्वास्थ्यमा समेत असर गर्ने हुँदा तरकारीमा रसायनीक मल र रसायनिक बिषाधीको प्रयोग गर्ने गरिएको छैन ।

यो पनि हेर्नुहोस् । कृषक डिल बहादुर बैजाली मगरको बिचार !

Loading...